चैतेदसैँ मेला : खर्च जुटाउनै सकस

समसामयिक राष्ट्रिय

Posted by Kapil_Upreti on 2024-04-11 04:21:51 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 157


चैतेदसैँ मेला : खर्च जुटाउनै सकस

बलेवा (बागलुङ), २९ चैत : चैतेदसैँका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक चैत्राष्टमी मेलाको तीव्रताका साथ तयारी भइरहेको छ । मेलाका लागि आयोजना गरिएका प्रतियोगिताको व्यवस्थापनदेखि मेला भर्न आउने अतिथि र दर्शकका लागि मञ्च तथा मैदानको व्यवस्थापनको काम भइरहेको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैतको ३० गतेदेखि मेला सुरु हुनेछ । मेलाका लागि सबै तयारी अन्तिम चरणमा पु¥याएको आयोजक गुठीले खर्च व्यवस्थापन भने कठिन भएको बताएको छ । मेलामा रू ५५ लाख खर्च हुने समितिको अनुमान छ । मेला हेर्न टिकटको व्यवस्था नभएको र सरोकारवालाको सहयोग नपाउँदा आर्थिक व्यवस्थापन कठिन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो । मेलाका लागि गुठीले रू १५ लाख दिने गरेको छ । प्रायोजकबाट रू १५ लाख अपेक्षा गरेको समितिले सोहीअनुसार सहआयोजक तथा प्रायोजक नभेटेको हो । मेला स्थलमा व्यावसायिक प्रयोजनका लागि आउँदा व्यहोर्नुपर्ने झण्झटका कारण व्यवसायीबाट सोचेजस्तो सहयोग नपाएको खड्काले बताउनुभयो । रमाइलो मेलाबाट रू १२ लाख, आर्थिक सहयोगबाट रू तीन लाख, मेलास्थलका स्टलबाट रू तीन लाख र दर्ता शुल्क रू दुई लाख सङ्कलन गर्ने लक्ष्य समितिको छ । मेलामा पुरुष भलिबल, लोकदोहोरी, छेलोलगायतका प्रतियोगिता आयोजना गरेको समितिले रू १९ लाख पुरस्कारमा मात्रै खर्च गर्नेछ । सोबाहेक प्रतियोगिताका निर्णायक र प्राविधिक तथा अन्य सामग्रीका लागि लाखौँ खर्च हुने अनुमान छ । कलाकार, प्रचारप्रसार, सुरक्षा टेन्ट, इन्धन र पानी बिजुलीसमेत गरेर रू ५५ लाख खर्च हुने खड्काले बताउनुभयो । यी सबै शीर्षकका खर्च जुटाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग नगरेको गुनासो उहाँले सुनाउनुभयो । कला संस्कृति, स्थानीय उत्पादन, व्यापार धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको भए पनि सरकारको ध्यान नपुगेको खड्काको गुनासो थियो । बुधबार पत्रकार सम्मेलन गरेर खड्काले मेलाको तयारीबारे जानकारी गराउनुभयो । पुरानो पररम्परागतरूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएकाले आन्तरिक पर्यटक तान्न मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । खड्काले मेलाले कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवं साँस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने अपेक्षा लिइएको बताउनुभयो । मेलामा घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो । चैत्राष्टमी मेला सञ्चालन हुने भएपछि देशका विभिन्न स्थानसहित बागलुङ जिल्लाका विभिन्न ठाउँबाट डालो, नाम्लो, डोका, डाली, नाङ्लो, ठेकासहित घरेलु उत्पादन बिक्रीका लागि व्यापारी आइपुगेका छन् । मेलामा पाँच लाख आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

बौद्ध संचार प्रा. लि, गोकर्णेश्वर न. पा वडा नं ५, काठमाडौं

अध्यक्ष : कपिल मुनि उप्रेती

प्रधान सम्पादक : कपिल मुनि उप्रेती

+९७७-९८५१००१७२६ 

०१-४९१०९१५

kupreti123@gmail.com

kuprety123@yahoo.com

boudhasanchar@gmail.com